२०८२ माघ १८ आइतवार , ०१:१०:०३ बजे

Sajhamanch
'

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

आइतवार, माघ १८, २०८२

रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ ।

बरफ जमेको अवस्थामा तालमाथि हिँडडुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।

पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासी फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउन गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो ।

यस्तो अवस्थामा यात्रु दहभित्र खस्न सक्ने भएकाले बरफमाथि नहिँड्न र सुरक्षित दूरी कायम गर्न सबैमा आग्रह गर्दै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले कुण्डमाथि हिँडेर धार्मिक कार्यमा खलल नपार्न पनि सबैमा अनुरोध गर्नुभयो ।

अहिले गोसाइँकुण्ड क्षेत्रमा चिसो बढिरहेको र पर्यटकको चहलपहल पनि रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा गाउँपालिकाले निगरानी बढाएको जनाएको छ । तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना, निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

साथै मौसमको प्रतिकूलता हेरी हिउँ परिरहने क्षेत्र चिप्लोबाटो भएकाले साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि सुरक्षा निकायले अनुरोध गरेको छ ।

सम्बन्धित खबर