२०८२ माघ १६ शुक्रवार , ०५:३०:३२ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेल जापान जाँदै, भ्रमण तालिका सार्वजनिक

शुक्रवार, माघ १६, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा राष्ट्रपतिको जापान भ्रमण हुने भएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति उनी नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने तालिका रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले बताए । टोलीमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल र उच्चस्तरीय सरकारी अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन् । जापानी प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले जानकारी दिए ।

राष्ट्रपति पौडेलले १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन् ।

जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ ।