
बिर्तामोड । बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ।
नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
वडाअध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो। सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साविक वडा नम्बर ६, ७, ८ र ९ लाई वडा नम्बर ११ कायम गर्न प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको हो।
वडाअध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको विशेष प्रस्ताव सभाबाट पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो। उहाँले उक्त प्रस्ताव प्रक्रियाका लागि सरकारको सम्बन्धित निकायमा पेश गरिने बताउनुभयो।
नगर प्रमुख प्रसाईले नगरपालिका निर्माण गर्दा भौगोलिक अवस्थालाई पर्याप्त ध्यान नदिई सीमाङ्कन गरिएकाले वडा नम्बर २ र वडा नम्बर १० अत्यधिक ठूलो रहेको उल्लेख गर्नुभयो।


