२०८२ माघ १४ बुधवार , ०७:१८:१२ बजे

Sajhamanch
'

कांग्रेस उम्मेदवार प्रसाईं कार्यकर्ता भेटघाटमा ब्यस्त

बुधवार, माघ १४, २०८२

झापा । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं.२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जोगाउन कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै संसदमा बहुमतप्राप्त दल बनाउने कार्यमा भूमिका खेल्न कार्यकर्ता र आम मतदातामा अपिल गर्नुभएको छ ।

नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ६ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न क्रियाशिल कार्यकर्ता भेटघाटलाई संबोधन गर्दै नेता प्रसाईले यस्तो धाराणा राख्नुभएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेकोतर्फ संकेत गर्दै उहाँले देश अफ्ठ्यारोमा परेको बेला कांग्रेसले नेतृत्व लिएर बचाएको विगतको इतिहास प्रस्तुत गर्दै उहाँले अब पनि कांग्रेसले नेतृत्व लिएर मध्यमार्गी बाटोबाट समाधान खोज्नुपर्ने बताउनुभयो ।

यसका लागि आगामी फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई बनाइदिन पनि उहाँले आम मतदातालाई आह्वान गर्नुभयो ।

अधिवेशनताका टिम राजनीति स्वभाविक भएको टिप्पणी गर्दै उहाँले विशेष महाधिवेशनपछि सबै नेतृत्वहरु एकठाउँमा आइसकेकाले चुनावी गतिविधिमा एकढिक्का हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा समानुपातिक उम्मेद्वार एवं कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले जेनजी पुस्ताले चाहेको परिवर्तनको सम्वोधन पार्टीले गरिसकेको बताउँदै अब कांग्रेसलाई बहुमत दिन आम मतदातामा आग्रह गर्नुभयो ।

संगठनको बल वडा र टोलमा हुने र जरामा पानी हालेमात्रै रुख हरियो–बलियो हुने बताउँदै नेतृ शिवाकोटीले वडा, टोल, भातृ एवं शुभेच्छुक संघसंस्थालाई सक्रिय बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।

सामाजिक सञ्जालका कतिपय सूचनाहरु विश्वसनीय नहुने बताउँदै उहाँले झुटो प्रचार आए सबैलाई सचेत गराउन पनि आग्रह गर्नुभयो । निर्वाचनअघि गठबन्धन गर्नुहुँदैन भन्ने कांग्रेसको नीति सबै दलले अनुकरण गरेको बताउँदै उहाँले पार्टी नेतृत्व बदलेर देश बदल्ने यात्रामा रहेको कांग्रेसलाई बहुमतले विजयी गराउन अपिल गर्नुभयो ।

नेपाली कांग्रेस अर्जुनधारा नगरसमिति वडा नं.६ का सभापति नेत्रप्रसाद विमलीको सभापतित्वमा भएको कार्यक्रमको उद्देश्यमाथि नगर सभापति हेमराज खरेलले प्रकाश पार्नुभयो ।

कार्यक्रममा महासमिति सदस्य दिपक तामाङ, महाधिवेशन प्रतिनिधि पाण्डवलाल चौधरी, क्षेत्र नं.२ प्रदेशसभा ख का सभापति किरण श्रेष्ठ लगायत क्षेत्रीय प्रतिनिधि एवं क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण टंक भण्डारीले गर्नुभएको थियो ।

सम्बन्धित खबर