२०८२ माघ १३ मङ्गलवार , ०३:१२:५७ बजे

Sajhamanch
'

द्रुतमार्गमा प्रधानमन्त्री कार्कीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिनुभएको छ ।

सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयको सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने बताउनुभयो । यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको अहिलेसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम शुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७०.९७७ किलोमिटर लम्बाइको आयोजनाको भौतिक प्रगति अहिलेसम्म झन्डै ४५ प्रतिशत हाराहारी छ ।

द्रुतमार्गअन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति आउँदो २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

यो काठमाण्डौ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौं ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा देशको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन् । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।

सम्बन्धित खबर