
काठमाडौं । नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्याउन अनुरोध गरेको छ ।
निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलाई परिपत्र गरेर राष्ट्रिय झन्डा ध्यान पुर्याउन अनुरोध गरेका हुन् । निर्वाचन आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटाभन्दा बढी राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग नगर्न परिपत्रमा भनिएको छ ।
उपसभापति शर्माले राष्ट्रिय झन्डालाई व्यक्तिको शिर भन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउन परिपत्रमा निर्देशन दिनु भएको छ । ‘उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ । त्यस्तो विल्कुलै नगर्ने/गर्न नदिने’ परिपत्र मार्फत भनिएको छ ।
उम्मेदवार वा प्रचारक कसैको पनि राष्ट्रिय झन्डालाई पाखुरा, कम्मर, घाँटीमा ज्याकेट वा मफलर जस्तो बनाएर बेर्ने कार्य नगर्न कांग्रेसले सुझाव दिएको छ । उपसभापति शर्माले परिपत्रमा भनेका छन्, ‘यसो गर्दा झन्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्नेरगर्न नदिने ।’
चुनावी कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झन्डा पार्टीको झन्डाभन्दा माथि राखेर फहराउन पार्टी पङ्क्तिलाई अनुरोध गरेका छन् ।


