
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–८ औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ ।
साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मध्यरातमा आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर पनि तत्काल आगो निभाउन नसक्दा धेरै क्षति भएको व्यवस्थापक बुढाथोकीले बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयबासिन्दाको प्रयासमा आज बिहान मात्रै आगो निभाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।


