२०८२ माघ ११ आइतवार , ०२:१४:३१ बजे

Sajhamanch
'

नेपालमा झन्डै २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने गरेको अध्ययन प्रतिवेदन

आइतवार, माघ ११, २०८२

काठमाडौं । काठमाडौंमा मिथ्या सूचनाविरुद्धको सम्मेलन चलिरहेको छ । हिजोदेखि शुरु भएको दुई दिने सम्मेलनमा विज्ञहरूले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभाका चुनावलाई लक्षित गरी अनलाइन र अफलाइन माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले संगठित रूपमा पनि मिथ्या सूचना फैलाउन शुरु गरेको बताएका छन् ।

सम्मेलनमा प्रस्तुत देशभरि गरिएको अध्ययन निष्कर्षमा नेपालमा झन्डै २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने, त्यस्ता सूचना फेसबुकलगायत सोसल मिडियामा बढी हुने र विशेषगरी राजनीतिक विषयवस्तुमा हुने तथ्यांक प्रस्तुत गरिएको छ ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) ले आयोजना गरेको सम्मेलनका वक्ताहरू र कार्यपत्र प्रस्तुत गर्दै अध्येताहरूले मिथ्या सूचनाले जनमतलाई प्रभाव पार्न सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक भएकोमा जोड दिएका छन् ।

सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रस्तुत गरिएको थियो ।

त्यसैगरी पछिल्लो नवयुवाको आन्दोलनमा डिस्कर्डको प्रभाव, समाचार कक्षमा एआईको प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा फ्याक्ट चेकिङ, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेश प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसको असर, नेपालमा फ्याक्ट चेकको अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरता लगायतका अनुसन्धान प्रस्तुत गरिएको छ ।

सम्मेलनमा १०० जना भन्दा धेरैको सहभागिता छ । सम्मेलन आज सकिनेछ । आज मिथ्या सूचनाको प्रतिकार, मिथ्या सूचना प्रतिकारमा मिडिया शिक्षाको भूमिका, मिथ्या सूचनाको प्रतिकारमा मिडियाको भूमिका, जलवायु विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारी विषयसँग छलफल गरिनुका साथै सोसल मिडियामा सामग्री निर्माताहरबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिनेछ ।

सम्बन्धित खबर