२०८२ माघ ७ बुधवार , ०८:११:२८ बजे

Sajhamanch
'

सुनको भाउ ५ दिनमा झन्डै १८ हजार रुपैयाँले बढ्यो, व्यापारीले पुराना गहना किन्न छाडे

बुधवार, माघ ७, २०८२

काठमाडौं । सुनको भाउ लगातार बढ्न थालेपछि व्यापारीहरूले पुराना गहना किन्न छाडेका छन् । ठूला सुन पसलमा ग्राहकले बिलसहितका ल्याएका एकरदुई तोलाका गहना खरिद भइरहे पनि धेरै गहना खरिद गर्न सक्ने अवस्था नरहेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार भाउ बढेपछि सुनको व्यापार ९० प्रतिशतले घटेको छ । ग्राहकले नयाँ गहना खरिद नगरेका कारण व्यापारीहरूले पनि पूराना गहना खरिद गर्न नसकेका उहाँले बताउनुभयो ।

यस्तै व्यापारीहरूमा अस्वाभाविक रूपमा बढेको भाउ कुनै पनि बेला अस्वाभाविक रूपमै घट्न सक्ने आशङ्का पनि छ । बजारमा पुराना गहना बिक्री नहुँदा गहना बेचेर आर्थिक समस्या समाधान गर्न चाहनेहरू समस्यामा परेका छन् ।

सुनको भाउ आज नेपाली बजारमा ३ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । बितेको पाँच दिनमा मात्र सुनको भाउ तोलामा १७ हजार ९०० रुपैयाँले बढेको छ ।

यसअघि माघ २ गते सुन तोलाको २ लाख ७७ हजार २०० रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९२० रुपैयाँ पुगेको छ ।