
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराउनुभएको हो ।
यसअघि हिजो जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेन्डा बोकेर चुनावमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभएको थियो ।
राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनेको यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।


