
झापा । झापाको कनकाई माई मेलाबाट तीन वटा मोटरसाइकल चोरी भएको छ । पार्किङ गरेको ठाउँबाट ती मोटरसाइकल हराएका हुन् ।
हिजो दिउँसो २ः३० बजेतिर कनकाई-४ कोटिहोम क्षेत्रमा एकैस्थानमा पार्किङ गरी राखेको अवस्थामा दुईवटा मोटरसाइकल हराएको हो ।
झापा गाउँपालिका-५ बस्ने मोहम्मद जेब्राईल शेखको प्र.१–०१–०१७ प. ५२४७ नम्बरको निलो रंगको १५० सिसीको पल्सर र सोही ठाउँ बस्ने जफर अलिको प्र.१–०१–०१७प.२४९८ नम्बरको रातो रंगको १५०सिसीको अर्को पल्सर मोटरसाइकल हराएको हो ।
त्यस्तै हिजो बिहान ७ः३० बजे कनकाई-४ कोटिहम मन्दिरमा पार्किङ गरी राखेको बुद्धशान्ति-१ बस्ने ३६ वर्षीय युवराज खडकाको प्र १–००१३प ५६९० नम्बरको रातो कालो रंगको १५० सिसीको पल्सर मोटरसाइकल हराएको छ । हराएका मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मेला भर्ने क्रममा अन्य धेरै जनाको नगद , गरगहना र मोबाइल चोरी भएको छ । कनकाई नगरपालिका-१ निवासी कैलाश दर्जीकी श्रीमती मुना दर्जीको हाते ब्यागसहित २ तोलाको सिक्री , बच्चाको ब्रासलेट र पाउजु चोरी भएको छ । त्यस्तै कनकाई-३ निवासी झलका विश्वकर्माको महत्त्वपूर्ण कागजातसहितको सानो ब्याग हराएको छ ।


