२०८२ पौष २९ मङ्गलवार , ०८:१९:५० बजे

Sajhamanch
'

सेयर बजारमा सामान्य सुधार, ७ अर्बको कारोबार

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो ।

मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा सामान्य अंकले घटेको थियो । तर, कारोबार बन्द हुँदा नेप्से ४.९० अंकले बढेर २६३९.९१ पुगेको छ ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार करिब ५० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा कारोबार भएको ११८ कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो । थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० र दोर्दीको ९.३८ प्रतिशत बढेको छ ।

सोमबार र मंगलबारको सेयर बजार हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । बैंकिङ क्षेत्रको घट्दो ब्याजदर र सरल कर्जाले पनि सेयर बजारमा लगानी बढाउन सकेको देखिँदैन ।

त्यसको मुख्य कारण भनेको राजनीतिक अस्थिरता हो । आगामी फागुनको प्रतिनिधिसभा निर्वाचन हुने/नहुने दुविधाले पनि लगानीकर्ताले लगानी बढाउन नचाहेको देखिन्छ ।

मंगलबार नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेको छ । साथै, नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये विकास बैंक ०.४१, जलविद्युत् ३४.२४, लगानी ०.०४, सामूहिक लगानी कोष ०.०८, निर्जीवन बीमा १०.७७, अन्य १८.३५ र व्यापार समूह ३६.३६ अंकले बढेका छन् ।

तर बैंकिङ १.९४, वित्त ७.०५, होटल ३४.१०, जीवन बीमा २२.१, उत्पादनमूलक २१.२१ र लघुवित्त समुह ९.९२ प्रतिशतले घटेका छन् ।

मंगलबार ३४९ कम्पनीको ७७ हजार १७ कारोबारबाट ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा धेरै हो । सोमबार नेप्सेमा ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।