
काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि हल तयार भएको छ ।
जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरवारमै राष्ट्रिय सभाको बैठक राख्ने हल तयार गरिएको हो ।
सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी तयार गरिएको छ ।
सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नु भएको थियो ।


