
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनु भएको छ ।
आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे अनावश्यक शंका नगर्न आग्रह गर्नु भएको हो ।
भण्डारीले निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको भन्दै उहाँले आगामी निर्वाचन पनि भयरहित ढंगले सम्पन्न हुने दाबी गर्नुभयो ।
विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस अघिल्लो दिनसम्म चल्ने गरेको स्मरण गराउँदै उहाँले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमै चुनाव हुने प्रष्ट पार्नुभयो ।
आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको छ । सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिएकाले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको भण्डारीको भनाइ छ ।
उहाँले विगतमा निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको तर अहिले त्यस्तो गम्भीर खतरा आयोगले महसुस नगरेको बताउनु भयो ।
भण्डारीले निर्वाचन व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको जानकारी दिनुभयो । हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी तीन किसिमका निर्वाचनमा आयोग एकसाथ खटिएको छ ।
उहाँले समानुपातिकतर्फ सोमबार उम्मेदवारहरूले नाम फिर्ता लिने कार्यक्रम रहेको पनि बताउनु भयो । द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो ।


