२०८२ पौष २८ सोमवार , ०१:२३:४२ बजे

Sajhamanch
'

तनहुँ, डडेल्धुरा र पाल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो

आइतवार, पौष २७, २०८२

काठमाडौं । तनहुँ, डडेलधुरा र पाल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार प्रशोधन केन्द्रका कामदार शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका नारायण विकसहित प्रशोधन केन्द्रबाहिर टहरा बनाएर बसेका एक पुरुष र एक महिलाको हिजो शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका–९ कुयापानीमा हिजो बेलुका ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा म १ प ९९७३ नम्बरको मोटरसाइकलका चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि बसेका ३५ वर्षीय मान जाग्रीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

यस्तै पाल्पाको रामपुर नगरपालिका–८ कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । लु २० प ५८९७ नम्बरको मोटरसाइकल र लु ६८ प ८८०० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि बसेका २३ वर्षीय गिरमान श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो ।