२०८२ पौष २३ बुधवार , ११:१७:०६ बजे

Sajhamanch
'

ताप्लेजुङमा दुई हजार ५३० अपाङ्गता पहिचान

सोमवार, पौष २१, २०८२

फुङलिङ । ताप्लेजुङमा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको पहिचान भइसकेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई हजार नौ सय ७८ रहेको भएता पनि हालसम्म जिल्लामा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भइसकेको हो ।

आइतबार जिल्ला समन्वय समिति ताप्लेजुङको सभाहलमा सम्पन्न अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा करुणा फाउण्डेसनका व्यवस्थापक कमल कोइरालाले प्रस्तुत गर्नुभएको विवरणले यस्तो देखाएको हो । उहाँका अनुसार बाँकी चार सय ४८ जनाको पहिचान गर्ने क्रम जारी रहेको छ ।

प्रस्तुत विवरण अनुसार जिल्लामा सबैभन्दा बढी एक हजार ३७९ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, बहु अपाङ्गता भएका २९६ जना, दृष्टिसम्बन्धी २६८ जना, सुनाईसम्बन्धी २२७ जना र मानसिक तथा मनोसामाजिकसम्बन्धी अपाङ्गता भएका १४२ व्यक्ति रहेका छन् ।

त्यस्तै स्वर बोलाईसम्बन्धी ९७ जना, बौद्धिकसम्बन्धी ६७ जना, अपाङ्गताको प्रकार नखुलेका २४ जना, अटिजम भएका २२ जना र श्रवण दृष्टिविहीन ८ जना रहेका छन् । तिमध्ये हालसम्म दुई हजार ४९५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरि सकेका छन् भने ३५ जनालाई परिचय पत्र वितरणको प्रक्रियामा रहेको छ ।

कार्यक्रममा विवरण प्रस्तुत गर्नुहुँदै करुणा फाउण्डेसनका व्यवस्थापक कोइरालाले कार्यक्रमहरू आर्थिक वर्षको चौथो त्रैमासिकमा मात्रै अत्याधिक रुपमा सञ्चालन भएकोले कार्यक्रम सम्पन्न भए पनि यसको गुणस्तरतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । प्रगति समिक्षामा जिल्लामा रहेका नौ वटै स्थानीय तहले गत आर्थिक वर्ष (२०८१/०८२) मा गरेका कार्यक्रम र चालु आर्थिक वर्ष (२०८२/०८३) को पहिलो त्रैमासिकसम्म सम्पन्न भएका कार्यक्रमको बारेमा करुणा फाउण्डेसनका व्यवस्थापक कमल कोइरालाले विवरण प्रस्तुत गर्नुभएको थियो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर जिल्लाका नौ वटै स्थानीय तहमा सम्बन्धित स्थानीय तह, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको समान लागत साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन भई रहेको छ ।

जसअन्तर्गत शुभकामना कार्ड वितरण, गर्भ पूर्व र गर्भ पश्चात फोलिक एसिड वितरण, नवजात शिशुको जन्मदोष परीक्षण र जन्मदोष पहिचान भएका नवजात शिशुको उपचार कार्यक्रम सञ्चालन भइरहेका छन् ।

त्यस्तै १० वर्ष मुनिका बालबालिकाको विद्यालयमा स्वास्थ्य परीक्षण, अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति वितरण, सामाजिक सुरक्षा भत्तामा पहुँच, स्वास्थ्य उपचार सहयोग प्रदान गरिरहेको जनाइएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री सहयोग, सीपमुलक तथा व्यवसायिक तालिम र व्यवसाय सञ्चालनमा सहयोग, स्वास्थ्य बिमामा आवद्धता तथा नवीकरण, अपाङ्गता भएका वयस्क व्यक्तिहरूको मिलिजुली समूह गठन, अपाङ्गता भएका व्यक्तिहरूको संस्था र सहकारी दर्ता लगायत सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्लामा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुखको छोटो छोटो समयमा हुने सरुवा तथा रिक्तता हुँदा समयमै काम गर्न कठिन भएको, अपाङ्गता भएका व्यक्तिलाई तालिम प्रदायक संस्थाहरुको कमी भएको, महिला तथा बालबालिका शाखामा दरबन्दी अनुसार कर्मचारी नहुँदा समस्या भएको, राज्यले व्यवस्था गरेको छात्रवृति, निःशुल्क स्वास्थ्य बिमा र यातायातमा छुट नदिइने समस्या रहेको औँल्याइएको छ ।

यसैबिच अपाङ्गता भएका व्यक्तिहरुलाई आ–आफ्ना सेवा प्रवाहमा प्राथमिकतामा राख्न, स्थानीय तहहरुमा कार्यक्रम सञ्चालन/अनुगमनका क्रममा कार्यक्रमबारे चासो राख्न, सरकारबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि तोकिएका सेवा सुविधा सुनिश्चित गर्न, सरकारले तोकेअनुसारका संरचनाहरुको पहुँचमा सुनिश्चित गर्न सरोकारवाला व्यक्ति तथा निकायलाई अनुरोध गरिएको छ ।

सम्बन्धित खबर