२०८२ पौष २३ बुधवार , ०१:३४:०९ बजे

Sajhamanch
'

दूधेमा व्यवसायिक भवनसहितको सार्वजनिक शौचालय सञ्चालन

सोमवार, पौष २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११ दूधे बजारमा नवनिर्मित व्यवसायिक भवनसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो ।

दूधे स्थानीय बजार व्यवस्थापन समितिले निर्माण गरेको दुईतले उक्त भवनमा चारवटा सटर, कार्यक्रम सञ्चालनका लागि एउटा हल, एक कार्यालय कक्ष तथा महिला–पुरुषका लागि सुविधा सम्पन्न शौचालयको व्यवस्था गरिएको छ । स्थानीय डिल्ली विमलीले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएपछि बजार समितिले भवन निर्माणको कार्य अघि बढाएको जनाएको थियो ।

भवन निर्माणका लागि शिवसताक्षी नगरपालिकाबाट दुई चरणमा गरी १८ लाख २४ हजार ३३७ रुपैयाँ, बजार समितिको कोषबाट ६ लाख रुपैयाँ तथा दाताहरूबाट संकलित २ लाख ३३ हजार ६६१ रुपैयाँ सहयोग प्राप्त भएको बजार समितिले जनाएको छ ।

भवन उद्घाटनकै अवसरमा बजार समितिले आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार भवन निर्माणमा कुल ३२ लाख ७५ हजार ३९९ रुपैयाँ खर्च भएको छ भने निर्माण क्रममा विभिन्न व्यवसायीलाई ३ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

अध्यक्ष थोप्राले बजार क्षेत्रमा जडान गरिएका सडक बत्तीको विद्युत् महसुल भुक्तानीमा समस्या रहेको गुनासो गर्नुभयो । बजारमा जडान गरिएका करिब ९० वटा सडक बत्तीको मासिक २० देखि २२ हजार रुपैयाँसम्म विद्युत् बिल आउने र जलेका बत्ती मर्मत तथा प्रतिस्थापन गर्न समेत कठिनाइ भएको उहाँले बताउनुभयो । सडक बत्तीलाई निरन्तरता दिन नगरपालिका र वडा कार्यालयको सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षी नगरभित्र बजार र सार्वजनिक शौचालयको अभाव धेरै रहेकाले त्यसका लागि बजेटको दबाब बढ्दै गएको बताउनुभयो । उहाँले भदौ २३–२४ को विध्वंशपछिको संघीय सरकारले स्थानीय तहमा आउने बजेटमा ठूलो कटौती गरेको र शिर्षक तोकेर मात्र बजेट विनियोजन गर्न परिपत्र आएपछि नगरपालिकाले चाहेर पनि सहयोग गर्न कठिनाइ भएको स्पष्ट पार्नुभयो । विगतमा पनि शौचालय निर्माणका लागि प्रयास गर्दा जग्गा अभावका कारण योजना अघि बढ्न नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा दुधे बजार विकास समितिका पूर्व उपाध्यक्ष पूर्णबहादुर नेम्वाङ्गले नवनिर्मित भवनका लागि १ लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको छ । साथै उहाँले सडक बत्ती व्यवस्थापनका लागि मासिक ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।

युकेमा कार्यरत नेम्वाङ्गले दूधे बजार पछिल्लो समय व्यवस्थित बन्दै गएकोप्रति प्रशंसा व्यक्त गर्दै दूधे–शिवगञ्ज सडकखण्डमा सडक पेटीको आवश्यकता औंल्याउँदै त्यसतर्फ नगरपालिका र बजार समितिले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमको अवसरमा दूधे स्थानीय बजार विकास समितिले पूर्व उपाध्यक्ष नेम्वाङ्गलाई उत्कृष्ट दाताका रूपमा सम्मान गरेको थियो । कार्यक्रममा वडाध्यक्ष बहादुर आङ्गबो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्थानीय बजारबासीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर