
झापा । समुदायमा आइपरेको आपतविपतमा मानवीय सहायता गर्दै आएको एउटा अनौपचारिक संस्था ‘एकका लागि एक अभियान’ले स्थापना कालदेखि हालसम्मको आया ब्यय सार्वजनिक गर्दै विपद्मा सहयोग गर्ने दाताहरुलाई आइतबार सम्मान गरेको छ ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियान स्थापनादेखि हालसम्म अभियानमा संकलित रकमको आयव्यय सार्वजनिक गर्दै बाढी र पहिरोमा अभियानले संकलन गरेको आर्थिक तथा जिन्सी सामग्रीको विवरण पनि प्रस्तुत गर्नुभएको थियो । बाढी र पहिरोमा एकका लागि एक अभियानले ६ लाख रुपैयाँ दिएर शुरुवात गरिएको थियो ।
अभियान अन्तरगत नगद २५ लाख ८५ हजार ९५० रुपैयाँ र विभिन्न प्रकारका २ हजार ५०० थान जिन्सी सामग्री उपलब्ध भएको थियो । त्यो सबै पीडितलाई वितरण गरिएको जनाइएको छ ।

बिर्तामोडमा आयोजित विशेष कार्यक्रममा गत असोज १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको र उक्त विपद्को समयमा एकका लागि एक अभियान अन्तरगत पीडितलाई राहत उपलब्ध गराउन सहयोग गर्ने विभिन्न ४४ वटा संघ–संस्था एवम् दाताहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।
झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् व्यवस्थापनमा खेलेको संयोजनकारी भूमिकाको प्रशंसा गर्दै उहाँलाई विशेष सम्मान गरिएको थियो । उहाँले उक्त विपद्का बेलामा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै अभियानले विशेष सम्मान गरेको हो ।
हाल काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

त्यतिबेला बाढी पहिरोमा डुबानबाट ५ हजार ५०० परिवारका २५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए । अभियानको अगुवाई तथा समन्वयमा २ हजार परिवारलाई प्रति परिवार तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ बराबरको खाद्य तथा गैर खाद्य सामग्रीको प्याकेट तयार गरी वितरण गरिएको थियो ।
सात सय परिवारका लागि विभिन्न दाताहरुको सहयोगमा सरसफाई सामग्रीसहित ५०० प्याकेट हाइजिन किट, ३०० थान सेन्टर किट र २०० थान व्लाङ्केट वितरण गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँका अनुसार प्रभावितहरुलाई एकद्वार प्रणालीबाट एकै प्रकृतिका सामग्री अभियानले जिल्ला विपद् व्यवस्थापन समितिलाई सहयोग गरेको थियो ।
अभियानले सामग्री जुटाएर तयार गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने, समितिले स्थानीय सरकारसँगको समन्वयमा राहत वितरण व्यवस्थित रुपमा सम्पन्न गरेको थियो ।
अभियानका संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका सदस्य लीला चिमरियाले शाब्दिक स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अभियानका सदस्य एकराज गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी गेलाल र सम्मानित व्यक्तित्वका तर्फबाट काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

२०७७ साल बैशाख १९ गते स्थापना भएको अभियानले कोभिड महामारी, कोभिड दोस्रो लहरको अभियानमा पीडितलाई उल्लेख्य सहयोग गरेको थियो । कोभिडका समयमा अभियानले पहिलो चरणमा विपन्न परिवारलाई राहत वितरण तथा खाना खुवाउने कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, प्लाज्मा बैंक स्थापनामा सहयोग, स्वास्थ्य सामग्री सहयोग, पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरेको थियो ।
त्यस्तै, कोभिडको दोस्रो चरणमा अक्सिजन बैंकको स्थापना, बाढी पीडितलाई स्वास्थ्य सामग्री सहयोग, अक्षयकोष स्थापना, भदौ २४ को विध्वंशकारी घटनाबाट जलाइएको प्रहरी कार्यालयहरु पुनः स्थापनामा १० लाख आर्थिक सहयोग, बाढी पहिरो पीडित दुई हजार परिवारलाई राहत लगायतका कार्य गरेको थियो ।
हाल अभियानको कोषमा एक करोड रुपैयाँ मौजदात रहेकोले कोषलाई अझ मजबुत बनाउन पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने र चालू आर्थिक वर्षभित्रै सामाजिक संस्थाका रुपमा दर्ता गरी अभियानलाई आधिकारिकता प्रदान गर्ने उद्देश्य रहेको संयोजक गिरीले जानकारी दिनुभएको छ ।


