
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउनुभएको छ । पार्टीका २५ केन्द्रीय सदस्यसँग आज आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा सभापति देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ ।
केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै चिन्ता जनाएका छन् । हिजो पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरि विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ । विवाद समाधानको प्रयासका लागि आज पार्टीको कार्यसम्पादन समिति बैठक बस्ने तयारी छ ।
महामन्त्रीद्वय थापा र शर्माले हिजो विज्ञप्ति निकालेर नियमित महाधिवेशन स्थगन गरि विशेष महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ । कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
आज बिहान कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरि पार्टी विधानले तोके अनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने समेत बताएका छन् । विशेष महाधिवेशनको माग अनुसार यही पुस २७ र २८ मा विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन गर्न माग गरिएको छ ।


