२०८२ पौष १८ शुक्रवार , ०३:०४:१९ बजे

Sajhamanch
'

आर्थिक क्रियाकलाप अघिल्लो वर्षभन्दा सकारात्मक

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक क्रियाकलाप बढेको जनाएको छ । केही निकायले आर्थिक वृद्धिदर कमजोर हुने अनुमान गरे पनि राष्ट्र बैंकले वृद्धिदर औसतभन्दा राम्रो रहने बताएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार यसवर्ष मुद्रास्फीति कम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धन र खाद्य वस्तुको मूल्य घट्नु, ब्याजदर घट्दै जानु, जलविद्युत् उत्पादन बढ्नु, पर्यटक आगमन बढ्नु तथा निर्यात र विप्रेषण वृद्धि हुनु यसको मुख्य कारण हुन् ।

पछिल्ला वर्षमा सुस्त रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र पनि मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । यसले आर्थिक वृद्धि औसतभन्दा माथि जाने संकेत दिएको छ ।

चालू आर्थिक वर्षमा तरलता पर्याप्त रहेको, सरकारले सुशासनमा जोड दिँदै पुनःनिर्माण अघि बढाएको तथा साना र तयारी नपुगेका आयोजनाको बजेट रोक्दै ठूला परियोजनालाई प्राथमिकता दिएको कारण आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

गएको आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव २ प्रतिशत, उद्योग क्षेत्रको १२ दशमलव ८ प्रतिशत, सेवा क्षेत्रको ६२ प्रतिशत रहेको छ ।

प्रदेशगत रूपमा जीडीपीमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ दशमलव ५ प्रतिशत रहेको छ । कोशी प्रदेशको हिस्सा १५ दशमलव ९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ दशमलव २ प्रतिशत रहेको छ ।

कृषि उत्पादनतर्फ प्रमुख बालीको उत्पादन ३ दशमलव ७ प्रतिशतले बढेको छ भने खेतीयोग्य क्षेत्र २ दशमलव २ प्रतिशतले घटेको छ । तरकारी उत्पादन १० दशमलव १ प्रतिशतले बढ्दा फलफूल उत्पादन ३ दशमलव ३ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादनमा दूध र मासु उत्पादन घटेको छ भने अण्डा उत्पादन १ प्रतिशतले बढेको छ ।

वनजन्य उत्पादनअन्तर्गत काठ र दाउराको उत्पादन बढेको भए पनि औषधिजन्य वस्तुको उत्पादन घटेको छ । गएको आर्थिक वर्षमा उद्योगहरूको औसत क्षमता उपयोग ४४ दशमलव ५ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षभन्दा कम हो । कूल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३० दशमलव ४२ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रमा सुधार देखिएको छ ।

सम्बन्धित खबर