२०८२ पौष १६ बुधवार , ०८:०२:०६ बजे

Sajhamanch
'

नयाँ वर्षको अघिल्लो दिन आज राति सौराहाका सबै होटल भरिने अनुमान

बुधवार, पौष १६, २०८२

चितवन । आज बेलुका चितवनको पर्यटकीय क्षेत्र सौराहाका धेरैजसो होटलका कोठाहरू भरिने सम्भावना रहेको होटल व्यवसायीहरूले बताएका छन् ।

इस्वी संवत् नयाँ वर्षको अघिल्लो दिन भइरहेको बुकिङले होटलका कोठाहरू भरिने सम्भावना रहेको क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालले बताउनुभयो ।

सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिसमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् । यी उत्सवहरूले ७० प्रतिशत कोठा भरिएकामा नयाँ वर्षको अघिल्लो रात नयाँ वर्षको स्वागतमा रमाइलो गर्नेहरूका कारण सबै कोठा भरिने अनुमान रहेको हो ।

मौसमका कारण बितेको चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा पनि पर्यटकहरू प्रशस्त पुगेकाले यी अवस्था सहज हुँदा धान्नै मुस्किल हुने गरि पर्यटक पुग्ने देखिएको महासचिव खनालले बताउनुभयो ।

सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिन थालेका छन् । रेष्टुराँ एण्ड बार एसोसिएशन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटक पुग्ने क्रम बढ्दो छ । राति अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उहाँ बताउनहुन्छ ।

सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन पुग्ने गर्दछन् ।

सम्बन्धित खबर