२०८२ पौष १६ बुधवार , ०२:३०:३७ बजे

Sajhamanch
'

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला

बुधवार, पौष १६, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणको जंगलमा उनको शव भेटिएको थियो । तामाङको नाइटोबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको प्रहरी चौकी अमलेले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो ।

सूचना प्राप्त हुनासाथ राती नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल गएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको पाइएको हो । शव नजिक एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको, मृतकले भिरेको झोलामा बारुद जस्तो देखिने धुलो र फलाम र सिसाको टुक्रा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी सुवेदीले जानकारी दिनुभयो ।

शवलाई मुचुल्का पश्चात् पोष्टमार्टमको लागि सिन्धुली अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर