
काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नवलपरासी पूर्व र पश्चिमको सिमाना दाउन्ने खण्डमा शीतका कारण सडक चिप्लो भएपछि गिट्टी, बालुवा राखेर गाडी वारपार गराउन थालिएको छ ।
शीतले चिसो बनेको सडकमा बिहानैदेखि गाडी चल्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय दाउन्नेका अनुसार दिउँसोसम्म ३५ वटा गाडी वारपार भएका छन् । दाउन्ने खण्डको उकालो र ओरालोमा बाटो चिप्लो भएपछि गाडी चिप्लिने समस्या छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार १५ घण्टादेखि त्यहाँ गाडी ठप्प भएका छन् । यात्रुहरूले लामो समयदेखि जाममा परेकोले समस्या भइरहेको गुनासो गरेका छन् ।
सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्कीबासतर्फ जाम लामो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी युवराज खड्काले जानकारी दिनुभयो । प्रहरीले तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा सहज यात्रा गर्ने गरि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।


