२०८२ पौष १४ सोमवार , ११:३८:२४ बजे

Sajhamanch
'

‘महिलाको नाममा आएको सहुलियत पुरुषले दुरुपयोग गरे’

सोमवार, पौष १४, २०८२

बिर्तामोड । महिला उद्यमीहरुको संस्था महिला उद्यमी संघ नेपाल झापाको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संघका अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख पुष्पलता उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा बोल्ने वक्ताहरुले वित्तीय अनुशासन र उद्यमको पहिचान अत्यन्तै जरुरी रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले महिलालाई लक्षित गरेर सरकारले ल्याएका सहुलियत सेवालाई महिलाका नाममा पुरुषले दुरुपयोग गरेको पाइएको जिकिर गरिन् ।

सहुलियत सुविधाको उपभोग अरुले नै गरेको दोहोर्याउँदै सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले केही उद्यम गर्छौं भन्नेहरु विभिन्न प्रावधानका कारण बञ्चित भएको प्रष्ट पारे ।

यस्तै, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत इन्द्रमणि कट्टेलले सहुलियत ऋण सुविधा लिनेहरु नै बैंकको ब्ल्याक लिस्टमा परेको खुलासा गर्दै वित्तीय अनुशासनमा इमान्दार हुन सुझाव दिए ।

सो अवसरमा सताक्षी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले उद्यममा लगानी गर्नेहरुका लागि ब्याजको दृष्टिकोणबाट अहिले सहज भएको धारणा राखेका छन् ।

अर्का वक्ता नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्थानीय सरकारले अझै पनि महिलालाई उद्यममा उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन नसकेको जिकिर गरेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष युनिता दवाडीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सहसचिव पुनम अधिकारीले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो साधारण सभामा आयोजक संस्थाका संस्थापक अध्यक्ष गोमा भट्टराई, निवर्तमान अध्यक्ष शुष्मा पौडेल लगायतले मन्तव्य राखेका थिए ।

संघको नयाँ सदस्यता लिनेहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले आफू नेतृत्वमा आएदेखि गरेका कार्यक्रम तथा गतिविधि र भावी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सम्बन्धित खबर