
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ज्वाइँको कुटपिटबाट सासूको मृत्यु भएको छ।
भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो। मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय गणेश शाहा गुप्ता र सासूबीच विवाद भएको थियो।
विवादकै क्रममा ज्वाई गुप्ताले पानी तान्ने ट्युबेलको ह्याण्डिलले बयलकोटीको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। घटनापछि घाइते बयलकोटीलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङ पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताउनु भयो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक सुवास हमालको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
ट्युबेलको ह्याण्डिल प्रहार गरी फरार रहेका आरोपी गुप्तालाई तत्काल पक्राउ गरिएको डीएसपी खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


