
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २३८ वटा कम्पनीको शेयर बढेकोमा २१ वटाको घटेको छ ।
आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बुधवार ३ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३२८ वटा कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर ५ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ ।


