
म्याग्दी । ५ दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् ।
खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो ।
मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताउनुभयो ।
तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेका छन् । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताउनुभयो ।
खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताउनुभयो । छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने हो । पहाडमा तामा रसाएको देख्न सकिन्छ ।
स्थानीयवासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो । खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन् ।


