२०८२ पौष १२ शनिवार , १२:३३:२२ बजे

Sajhamanch
'

राप्रपाले आज बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

शनिवार, पौष १२, २०८२

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । राजा, राजनीतिक दल र जेन–जीका बीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने बताइएको छ ।

देशमा अहिले ध्रुवीकरण तीव्र रूपमा भइरहेको बताउँदै पार्टीका प्रवक्त मोहन श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूका बीचमा छिट्टै हुने बताउनु भएको छ।

तुलनात्मक रूपमा राप्रपाको बलियो संगठन भएको झापामा हुने सभाले नवीन समझदारीको लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्ने तयारी भएको आयोजक झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको भनाई छ ।

बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष ओझाले बताउनु भएको छ ।

राप्रपालाई सुन्न, राप्रपामा जोडिन र राप्रपाको देश बचाउने र देश बनाउने अभियानमा सहभागी हुन अध्यक्ष लिङ्देनले आम समुदायमा अपिलसमेत गर्नुभएको छ।

सम्बन्धित खबर