२०८२ पौष १० बिहिवार , ०२:०६:३३ बजे

Sajhamanch
'

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटकको बाघ गणना शुरू

बिहिवार, पौष १०, २०८२

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो ।

उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।

बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ । यद्यपि बाघ गणना शुरू भएकै दिन हिजो बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वनमा पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा ज्यान गएको छ । नेपालले एक दशकमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा बढी बाघमा वृद्धि भएको सचिव शर्माको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार अहिले नेपालमा ३५५ बाघ छन्, जसमा बर्दियामा मात्रै झन्डै १२५ रहेको छ । पछिल्लो समय २१ वटा पाटेबाघ मरेको छ ।

बाढीपहिरो, चोरी सिकारी, आपसमा लड्नु र प्रकृतिक कारणले निकुञ्ज र सामुदायिक वनमा रहेका पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

बाघको सङ्ख्या विस्तारका लागि संरक्षण, सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रणलाई प्रमुख कारण मानिएको छ । बाघको सङ्ख्या वृद्धि हुनासाथ मानव–वन्यजन्तु द्वन्द्व पनि बढेको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३२२ वन्यजन्तु मरेको छ र ४२३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मरेकामध्ये ठूलो हिस्सा गाडी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।

बाघ मर्नुको मुख्य कारणमध्ये आपसी लडाईं पनि देखिएको छ । वयस्क बाघहरू क्षेत्राधिकारका लागि प्रतिस्पर्धा गर्दा धेरैजसो मर्ने गरेको निकुञ्जका कर्मचारीको भनाइ छ । मानवीय पक्षबाट हेर्दा बाघसँगको द्वन्द्व अत्यन्तै पीडादायी बन्दै गएको छ ।

चालू आर्थिक वर्ष २०८२/२०८३ को दुई महिनामा चार जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । तीन वर्षको अवधिमध्ये नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा बर्दियामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर