२०८२ पौष ९ बुधवार , ११:४९:५१ बजे

Sajhamanch
'

बिर्तामोड ५ वडास्तरीय र भेट्रान्स फुटबल प्रतियागितमा सेमिफाइनल प्रवेश

बुधवार, पौष ९, २०८२

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा वडा नं. ५ ले सहज जितका साथ सेमिफाइनलको यात्रा तय गरेको छ ।

वडा नं. ५ ले वडा नं. १ लाई ५–३ गोल अन्तरले हराएको हो ।

वडा नं. ५ का विवेक तामाङले–२, सुजन विक, नगेन्द्र खत्री र अंकुर खड्गीले समान १ गोल गरेका थिए ।

वडा नं. १ का रितिन मगर, विपिन गौतम र असिमजंग कार्कीले मात्र गोल गर्न सफल भए ।

सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. ३ सँग प्रतिष्पर्धा गर्ने छ ।

खेलको प्लेयर अफ द म्याच वडा नं. ५ का विवेक तामाङ भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए ।

बिहीबारको पहिलो सेमिफाइनल खेल वडा नं. १० र वडा नं. ७ बीच हुने छ ।

यस्तै, दोस्रो वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा पनि वडा नं. ५ नै विजयी भएको छ ।

वडा नं. ५ ले वडा नं. १ लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो मिनेट मै वडा नं. १ ले अग्रता लिएको थियो । वडा नं. १ का अर्जुन एक्तेनले डी–बक्समा पाएको बललाई वान टचमा गोल गर्दै खेललाई १–० को स्थितिमा पुर्याएका थिए । त्यसको एक मिनेटमै वडा नं. ५ ले खेल बराबरी गर्यो । वडा नं. ५ का लागि नरेन लिम्बूले पहिलो गोल गरे ।

वडा नं. ५ का लागि अंकुर खड्गीले गरेको गोल खेलको निर्णायक बन्यो । सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. ३ को सामना गर्ने छ ।

खेलको प्लेयर अफ द म्याच वडा नं. ५ का अंकुर खड्गी भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।

भेट्रान्स अन्तरगतको बिहीबार पहिलो सेमिफाइनल खेल वडा नं. ६ र वडा नं. १० बीच हुुने छ ।

बुधबारको खेलसँगै बिर्तामोड नगर खेलकुद विकास समितिका आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ ।