२०८२ फागुन ३ आइतवार , ११:०२:१४ बजे

Sajhamanch
'

रक्तदानसहित कार्यालयमा झण्डोत्तोलन गरेर पत्रकार महासंघ झापाले मनायो स्थापना दिवस

बुधवार, पौष ९, २०८२

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो ३७औं स्थापना दिवस रक्तदान र कार्यालयमा झण्डोत्तोलन गर्दै आज मनाएको छ ।

झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पुर्याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ झापाले बुधबार रक्तदान कार्यक्रम गरेर मनाएको हो ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरे ।

प्रमुख अतिथि ढकालले दान मध्येको महादान रक्तदानको आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्वपूर्ण एवम् पुण्यकार्य गरेको भन्दै प्रशंसा गरे । उनले रगतको अभाव पूरा गर्न स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए ।

ब्लड डोनर्स एशोसिएसन झापाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।

कार्यक्रममा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्षहरु कृष्ण हुमागाँई, गणेश पोखरेल, चेम्बर अर्फ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष पुष्पाञ्जली सिन्हा, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सञ्चारिका समूह झापाका अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै व्यवसायिक, मर्यादित, तथ्यपरक पत्रकारितामा जोड दिए ।

उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए । झापा ब्लड डोनर्सका अध्यक्ष विष्णु आचार्य, संस्थापक रमेश दाहाल लगायतका अभियानकर्मीले कार्यक्रममा संयोजनको भूमिका निर्वाह गरेका थिए ।

पत्रकार तथा हल्दिबारी प्रेस क्लवका अध्यक्ष नेत्रविक्रम विमलीले १२०औं पटक रक्तदान गरेको सो कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेन–जी युनाइटेड मुभमेन्ट नेपाल झापा, पत्रकार, विद्यार्थी लगायत समाजका विभिन्न क्षेत्रका रक्तदाताहरुले रक्तदान गरेका थिए ।

यसैबीच बुधबार नै स्थापना दिवसको अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झण्डोत्तोलन गरिएको छ ।

महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, वर्तमान अध्यक्ष एकराज गिरी, पदाधिकारी तथा सदस्यहको उपस्थितिमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो ।

सम्बन्धित खबर