२०८२ पौष ९ बुधवार , ०६:५०:५८ बजे

Sajhamanch
'

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता घोषणा

बुधवार, पौष ९, २०८२

काठमाडौं । कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा गरेका छन् ।

उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गरी संयुक्त रूपमा चुनावमा सहभागी हुने निर्णय सार्वजनिक गरिएको हो ।

२०८२ फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर केही समयदेखि दुवै पक्षबीच निरन्तर छलफल भइरहेको थियो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष ई। अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साह नेतृत्वमा राजनीतिक, वैचारिक तथा चुनावी सहकार्यलाई संस्थागत रूपमा सुदृढ गर्ने सहमति भएको हो ।

घोषणामा पछिल्ला वर्षहरूमा सुशासन, समृद्धि, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति जनआकांक्षा बढ्दै गएको उल्लेख गरिएको छ भने जेनजी आन्दोलनको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यसहित एकीकृत मोर्चाबाट जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्झौताअनुसार दुवै पार्टीले उज्यालो नेपाल पार्टीको दर्ता र संगठन संरचनामार्फत ‘बलेको चिम’ चिन्हबाट संयुक्त उम्मेदवारी दिने, उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीका आधारमा टुंग्याउने, प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालनसहित संयुक्त चुनावी घोषणापत्र तयार गर्नेछन् ।

घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संघीयता र समावेशीता जस्ता विषयलाई केन्द्रमा राखिने बताइएको छ ।