२०८२ पौष ७ सोमवार , ०३:०३:५१ बजे

Sajhamanch
'

फागुन २१ मै चुनाव हुनुपर्छ, महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन : गगन थापा

सोमवार, पौष ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते मै चुनाव हुनुपर्ने बताउनुभएको छ । यस्तै पार्टीको महाधिवेशनविना कांग्रेस चुनावमा नजाने उहाँको भनाइ छ ।

काठमाण्डौमा बिहान कार्यकर्ताहरूसँगको छलफलमा उहाँले महाधिवेशन गरेर कांग्रेस फागुन २१ को चुनावमा सहभागी हुने बताउनुभयो । चुनावको परिणाम कसको पक्षमा जान्छ भन्नेभन्दा पनि चुनाव गराएर नयाँ जनादेशसहितको संसद र सरकार बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनैपर्ने बताउनुभयो ।

तल्लो तहबाट क्रियाशील सदस्यता सम्बन्धी काममा ढिलाइ भइरहेको प्रति असन्तुष्टि जनाउँदै महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशा र संरचनामा रूपान्तरण गर्ने अवसर भएको उहाँको भनाइ छ । आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको घोषणा गर्दै कुनै पनि मूल्य चुकाएर भए पनि चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

समयमै महाधिवेशन र चुनावमार्फत पार्टी र देश दुवैलाई अनिश्चितताबाट बाहिर निकाल्न सकिने उहाँको भनाइ छ । गएको भदौ २३ गते भएको घटनालाई अकल्पनीय र दुःखद् भन्दै उहाँले त्यसलाई इतिहासकै कालो दिनको संज्ञा दिनुभयो । त्यस घटनाको राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन सरकार, गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने उहाँले बताउनुभयो ।