
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरु चुनावका लागि तयार देखिएका छन् । तर दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले अझै अलमलमा छन् ।
नेकपाले जनसभामार्फत र रास्वपाले प्रधानमन्त्रीलाई भेटेर आफूहरु चुनावको लागि तयार रहेको जानकारी गराएका छन् । कांग्रेस र एमालेले चुनावभन्दा प्रतिनिधिसभा पुनस्र्थापनालाई बढी जोड दिएका छन् ।
अस्ति काठमाडौंमा भएको सभामा नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबरदारी गर्नुभयो । अबको राजनीतिक निकासका लागि चुनाव नै विकल्प भएको उहाँको भनाइ छ ।
यस्तै रास्वपाले फागुन २१ गतेको चुनावमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताहरुले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समयमै चुनाव गर्नको लागि सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो ध्यान फागुन २१ का लागि घोषित चुनाव सम्पन्न गराउनेमा मात्रै रहेको बताउनुभएको थियो ।
त्यस्तै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले चुनावलाई स्वतन्त्र र धाँधलीरहित ढंगबाट अघि बढाउन आफूहरू तयार रहेको जानकारी गराउनुभयो । तर चुनावको तयारीमा लागिरहँदा सरकारले मुख्य राजनीतिक दलहरूलाई विश्वासमा लिन भने सकेको देखिँदैन । चुनावको विषयमा सरकार र कांग्रेस, एमाले, नेकपा लगायत मुख्य दलका शीर्ष नेताबीच संवाद नै शुरू भएको छैन ।
यही बीचमा कांग्रेस र एमाले प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेका छन् । यसअघि नै ती दलका सांसदहरूले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । अब दुवै दलले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षरसहित पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ । एमालेका ७५ जना र कांग्रेसका ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् । एमालेले ७५ जनाका हस्ताक्षर यसअघि नै सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले आज बुझाउने तयारी गरेको छ ।


