२०८२ पौष ६ आइतवार , ०४:०९:२३ बजे

Sajhamanch
'

भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको तातोपानी–घाँसा खण्ड स्तरोन्नति

आइतवार, पौष ६, २०८२

म्याग्दी । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना शुरु भएको थियो ।

शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित ६३ करोड रुपैयाँमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको साढे १६ किलोमिटर सडकमध्ये पहिरो प्रभावित झन्डै साढे तीन किलोमिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो ।

जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको र स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा रहेको बताउनुभयो ।

लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम शुरु गरेको छ । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन मानिएको छ ।

सम्बन्धित खबर