
बिर्तामोड । बिर्तामोडमा आज शुक्रबारदेखि सुरु भएको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ७ ले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं. ७ ले वडा नं. ६ लाई २–० गोल अन्तरले पराजित गरेको हो । वडा नं. ७ का फिरोज राईले टिमका लागि २ गोल गरेका हुन् ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ७ का फिरोज राई भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
शनिबारको खेल वडा नं. ३ र वडा नं. ८ विच हुने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।
भोलि शानिबारदेखि सहिद नेत्र पार्क खेल मैदानमा दोस्रो नगरस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता पनि सुरु हुने उनले बताए ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगिता उद्घाटन गर्दै उनले झापामा पहिलो पटक नगरस्तरीय खेलकुद समिति गठन गरेर बजेट विनियोजन गर्ने बिर्तामोड नगरपालिका भएको बताइन् ।
उनले जेन–जीका नाममा भएको आन्दोलनले नगरका सबै क्षेत्रसँगै खेलकुद पनि प्रभावित भएकाले प्रतियोगिता केही समयपछि गर्नुपरेको धारणा राखिन् ।

प्रसाईंले जेन–जीका नाममा अराजक तत्वले ईतिहासमा दाग लाग्ने काम गरेको आरोप लगाउँदै बिर्तामोडको १ अर्ब बजेट कटौती भएको जानकारी दिइन् । उनले खेल क्षेत्रको विकासका लागि नगरले लगानी गर्दै जाने पनि बताइन् ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ लगायतले धारणा राखेका थिए ।
समितिका सदस्य रमेश उप्रतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विसन लिम्बूले गरेका थिए । प्रतियोगितामा झापा गोल्डकप आयोजक समितिका अध्यक्ष केदार गिरी लगायतको उपस्थिति थियो ।


