२०८२ पौष ४ शुक्रवार , ०२:०५:१५ बजे

Sajhamanch
'

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बिहिवार, पौष ३, २०८२

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका ८३ वर्षीय वृद्धले नागरिकता पाउनुभएको छ । बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो ।

नाम र जन्म स्थान टुङ्गो नलागेका उहाँ ‘धान्द्रुके बाजे’ उपनामले चिनिनु हुन्थ्यो । उहाँले नागरिकता पाउनुभएसँगै पहिलोपटक आठ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्नुभएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आउनुभएका उहाँ बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन हुनुभएको थियो । नागरिकता नहुँदा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुहुन्थ्यो ।

नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले जानकारी दिनुभयो ।

‘सानै उमेरमा बागलुङ नगरपालिका–१० को भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकत्वमा नागरिकता लिनुभयो’, खड्काले भन्नुभयो । बाँसका सामग्री बनाउँदै आउनुभएका उहाँको चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो ।

सम्बन्धित खबर