२०८२ पौष २ बुधवार , ०६:२८:२२ बजे

Sajhamanch
'

काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो

बुधवार, पौष २, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेको छ । आज दिउँसो काठमाडौंको रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर मापन सूचक एक्यूआई १५२ भन्दा माथि पुगेको छ ।

यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार अस्वस्थकर तह हो । यस्तै सुर्खेत र दाङको देउखुरीमा एक्यूआई १५५ भन्दा माथि पुगेको छ ।

वर्षेनि हिउँदका चिसो दिनहरू शुरू भएसँगै काठमाडौंसहित विभिन्न शहरमा वायु प्रदूषणको अवस्था अस्वस्थकर अवस्थामा पुग्ने गरेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउनुहुन्छ ।

उहाँका अनुसार खासगरी इस्वी संवतको डिसेम्बर महिनादेखि अप्रिलसम्म वायु प्रदूषण बढेर स्वास्थ्यलाई नै असर गर्ने तहमा पुग्ने गर्छ । वायु प्रदूषणले फोक्सोमा प्रत्यक्ष असर गर्छ भने श्वासप्रश्वाससँगै मुटुरोग, मस्तिष्करोग समेत बढाउने जोखिम रहने डाक्टरहरू बताउँछन् ।

नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रले केही वर्ष अगाडि गरेको एक अध्ययन अनुसार नेपालमा दम रोगीहरूको १८ वर्षभन्दा माथिको सङ्ख्या १२ प्रतिशत देखिएको थियो । त्यसमा आधाभन्दा बढीको कारण वायु प्रदूषणसँग सम्बन्धित रहेको प्रतिवेदनमा भनिएको छ ।

हिउँदमा पानी नपर्नुले पनि प्रदूषण बढाउँछ भने कृषि अवशेष र फोहोर बाल्ने, गाडीबाट निस्किएको धूँवा, उद्योगहरूबाट निस्किने धूँवा, डढेलो लगायतले प्रदूषण बढाउने डा। भूपेन्द्र दास बताउनुहुन्छ ।

एक अध्ययन अनुसार काठमाण्डौमा हुने प्रदूषणको ६३ प्रतिशत आन्तरिक कारण, १४ प्रतिशत नेपालबाहिरबाट आएको र बाँकी २३ प्रतिशत उपत्यकाबाहिरका जिल्लाबाट आएको पाइन्छ ।

तराईमा भने झन्डै ६० प्रतिशत देशबाहिरबाट आउने गरेको छ । देशबाहिरबाट आउने प्रदूषण रोक्न समस्या भए पनि आन्तरिक कारणलाई घटाउन पहल गर्नुपर्ने वायु गुणस्तर विज्ञ दासको सुझाव छ ।

सम्बन्धित खबर