२०८२ पौष २ बुधवार , ०१:३१:१६ बजे

Sajhamanch
'

एमालेको नयाँ नेतृत्वका लागि मतदान शुरु हुँदै : नेता–कार्यकर्ता मत माग्न व्यस्त

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट अबको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि गएराति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको अवस्थामा मतदानको तयारी भइरहेको छ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि मतदान हुन लागेको हो ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ । दिउँसो एक बजेदेखि मतदान शुरु हुने भनिए पनि झन्डै तीन घण्टा ढिला चार बजेपछि मात्रै हुने भएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम राख्ने काम भइरहेको छ । तर धेरै उम्मेदवार भएको कारण केही समय लाग्ने भएकाले मतदानको समय केही ढिला हुने सम्भावना छ ।

कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । नयाँ नेतृत्व चयनका लागि मतदान अघि उम्मेदवार र तिनका समर्थकहरु मत माग्न जुटेका छन् । मतदान स्थल भृकुटीमण्डप काठमाण्डौमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको चहलपहल छ ।