
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।
विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् ।
मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । तर दुई पक्षबीच गरिएको लिखित सहमतिलाई प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेको भन्दै जग्गाधनीले टर्वाइनबाट हटाएर खोलातिर फर्काइदिएका छन् ।
लामो समयदेखि चरणबद्ध आन्दोलन गर्दै आएका जग्गाधनीले गएको चैतमा पनि जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने बताउँदै आएका छन् ।
सुङ्देल र केपिलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको आयोजना २०७७ साल भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो । कम्पनीले पोल गाडिएका जग्गाको क्षतिपूर्ति दिएको छ ।
तर तार र पाइपलाइनले ओगटेको जग्गाको क्षतिपूर्ति नदिएको स्थानीयबासिन्दा माइतीराज राईले बताउनुभयो । आयोजनाका सञ्चालक समितिका सदस्य राजन दाहालले पछिल्लो पटक स्थानीयबासिन्दाले उठाएका कतिपय माग सम्बोधन गर्न नसकिने बताउनुभएको छ ।


