२०८२ मंसिर २६ शुक्रवार , ०७:४०:३८ बजे

Sajhamanch
'

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नवयुवाको माग

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । नवयुवा अभियन्ताहरुले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनावको सुनिश्चितता र विदेशमा रहेका नेपालीको मताधिकार माग गर्दै निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका २० लाखभन्दा धेरै नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने उनीहरुको माग छ ।

अभियन्ता शिरिष शाहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मत भन्दा बढी नेपालीहरु विदेशमा रहेका र उनीहरुले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग मुख्य रहेको बताउनुभयो ।

त्यस्तै अभियन्ता प्रकृति ढकालले विदेशमा रहेका नेपालीले मत दिन पाउने अधिकारबाट वञ्चित नगराइदिन निर्वाचन आयोगका पदाधिकारीसँग आग्रह गरिएको बताउनुभयो ।

श्रोत–साधनको समस्या देखाएर सधैँ पन्छिरहन नमिल्ने उहाँको तर्क छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा पटक पटक कुरा उठे पनि आवश्यक प्रकृया र भरपर्दो तयारी भने हुन सकेको छैन । आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभाको चुनावलाई अब तीन महिनाभन्दा कम समय बाँकी छ ।

पछिल्लो नवयुवाको आन्दोलनपछि अन्तरिम सरकारको गृहमन्त्री बन्नुभएका ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दा अबको चुनावमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गरिने बताउनुभएको थियो ।

सम्बन्धित खबर