२०८२ मंसिर २५, बुधवार , १२:०८:४४ बजे

Sajhamanch
'

मल आपूर्ति र धान खरिदको कोटा बढाउन सुदूरपश्चिम प्रदेश सरकारको पहल

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल र धानको सहज खरिदका लागि कोटा बढाउन पहल गरेको छ ।

गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले समस्या भोग्नुपरेको किसानबाट निरन्तर गुनासो आएकाले यो समस्या समाधानका लागि पहल थालिएको प्रदेश सरकारले जनाएको छ ।

किसानको मागअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदको सहजताका लागि प्रयास गरिएको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग धनगढीमा छलफल गरेर मल आपूर्ति र सरकारले तोकेको मूल्यमा धान खरिदको व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह समेत गर्नुभएको थियो ।

अर्थमन्त्रीसमक्ष थप ५० हजार क्विन्टल धान खरिद र अनुदानको मलको कोटा बढाइदिन आग्रह गरेकोमा सक्दो प्रयास गर्ने आश्वासन पाएको मुख्यमन्त्री शाहले बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि १३ प्रतिशत रासायनिक मलको कोटा हुनुपर्नेमा अहिले ६ प्रतिशत मात्र आपूर्ति हुन सकेकाले मलको अभाव छ । किसानले गहुँ बालीका लागि प्रयोग गर्नुपर्ने युरिया मलको अभाव भइरहेको गुनासो गरिरहेका छन् ।

त्यस्तै धान खरिदमा व्यापार कम्पनी प्रादेशिक कार्यालय धनगढीले गएको वर्ष ५५ हजार क्विन्टल कोटा पाएकोमा यस वर्ष ३५ हजार क्विन्टलको मात्र कोटा पाएको छ । कोटा घट्दा किसानले सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइरहेका छैनन् । धनगढी उपमहानगरपालिकाका किसान वीरबहादुर चौधरीले निजी क्षेत्रका व्यापारीलाई धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो गर्नुभयो ।

कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले कोटा बढाएर धान खरिद गर्नुपर्ने किसानको आग्रह रहेकोमा केन्द्रबाट कोटा नबढेसम्म खरिद गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

सम्बन्धित खबर