२०८२ मंसिर २६ शुक्रवार , ०३:१०:११ बजे

Sajhamanch
'

भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताउनु भएको छ। उहाँले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताउनु भयो ।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो।

‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ,’ उहाँले भन्नुभयो ।

त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको उनले बताइन् । ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।’

उहाँले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने स्पष्ट पार्नुभयो । ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गर्नुभयो ।

सम्बन्धित खबर