२०८२ मंसिर २०, शुक्रवार , ०४:०९:३७ बजे

Sajhamanch
'

भदौ २३ र २४ को घटना नेपालको इतिहासमा तेस्रो प्रतिक्रान्ति : बादल

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गते भएको घटना तेस्रो प्रतिक्रान्ति भएको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले २००७ सालको परिवर्तनलाई १७ सालमा महेन्द्रले उल्ट्याएर पहिलो प्रतिक्रान्ति गरेको बताउनु भयो ।

तर त्यसलाई २०४६ सालमा नागरिक सरकार बने पनि त्यसपछि २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेर दोस्रो प्रतिक्रान्ति गरेको भन्दै २०८२ भदौको घटना तेस्रो प्रतिक्रान्तिका रूपमा पार्टीले व्याख्या गरेको बताउनु भयो ।

उहाँले प्रतिक्रान्तिलाई परास्त गर्दै लोकतन्त्र स्थापना गर्न प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने भन्दै पार्टीले समेत सोही अनुसार निर्णय गरेको बताउनु भयो । उहाँले प्रतिक्रान्तिलाई वैधता र पूर्णता दिन प्रतिगामी शक्तिहरू लागिरहेको भन्दै लोकतन्त्र स्थापनाका लागि भूमिका खेलेका राजनीतिक दलभित्र पनि प्रतिक्रान्तिको प्रयास भइरहेको बताउनु भयो ।

‘जेलेन्स्कीहरुको सरकार बनाएर प्रतिक्रान्तिले वैधता पाउँछ भनेर प्रतिगामीहरू अघि बढेका छन्’, नेता थापाले भन्नुभयो, ‘यस्तो अवस्थामा मुख्य दलहरूको महाधिवेशन हुन लागेको छ । यहाँबाट शीर्ष नेतृत्व विस्थापित गर्ने र अनुकूलको नेतृत्व स्थापित गर्ने रणनीति प्रतिगामीहरूको छ ।’

उहाँले मुलुकको विकसित राजनीतिक घटनाक्रमहरूलाई मध्यनजर गर्दै एमालेले एकताको महाधिवेशन भनिरहेको बताउनु भयो । बादलले भन्नुभयो, ‘नेतृत्वको रक्षा गरेर मात्र प्रतिक्रान्तिकारी षड्यन्त्र चिर्न सकिन्छ ।’

सम्बन्धित खबर