२०८२ मंसिर २०, शुक्रवार , ०१:०२:०२ बजे

Sajhamanch
'

ठेकेदार बेपत्ता भएपछि भोजपुरको कोट अस्पताल निर्माण अलपत्र

शुक्रवार, मंसिर २०, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम ५ वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो ।

२०७८ मा २ वर्षभित्र सम्पन्न गर्नेगरी १५ शय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदार मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएका छन् ।

२०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयण जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको २ वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।

अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार छ । अहिलेसम्म ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपाल बताउँनु हुन्छ ।

‘अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र छ । अस्पताल बनेर सेवा पाइएला भन्ने आशामा जग्गा दिएका थियौँ । हामी निराश बनेका छौँ । सरकारले ठेकेदारलाई कारबाही गरोस् र अर्को ठेकेदारबाट कामको प्रक्रिया अघि बढोस्’, उहाँले भन्नुभयो ।

देश विदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३.५ रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवाल बताउँनु हुन्छ ।

‘अस्पताल बन्ने आशामा देशविदेशमा रहेका तथा स्थानीयसँग समन्वय गरी रकमको व्यवस्थापन गरेर जग्गा प्रदान गरेका हौँ । अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । लामो समयसम्म पनि अस्पताल बनेन्’, कटुवालले भन्नुभयो।

अस्पताल भवन समयमा सक्न पटकपटक ताकेता गरेपनि ठेकेदार सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनु भयो । गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उहाँले सुनाउनु भयो ।

‘काम छिटो थाल्न पालिकाको तर्फबाट पटक(पटक ताकेता गर्दा पनि ठेकेदार आएनन् । अब भने कारबाहीको थप प्रक्रिया अघि बढाउने तयारीमा छौँ’, बस्नेतले भन्नुभयो ।

शुक्रवार, मंसिर २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर