
झापा । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका -३ किचकबधस्थित देउनियाँ खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सशस्त्रले सोमबार साँझ बालुवा लोड भएको मे. १ त. ६०८१, मे. १ त. २४७५ र प्र-१-०१-००२ त ०९४६ नम्बर ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारबाहीका लागि आज भद्रपुर नगरपालिकामा बुझाउने जनाइएको छ । कोेशी प्रदेशको आर्थिक ऐन २०८२ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई रु. २५ हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।


