
मुस्ताङ । कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ ।
विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी झर्ने गर्थे । धेरैजसो नागरिक कात्तिकमै पोखरा, काठमाण्डौलगायतका ठाउँमा झर्ने पुरानै चलन थियो ।
तर नेपाल–चीन सीमाना कोरला नाका पूर्णरूपमा खुलेपछि यस वर्ष त्यहाँ व्यापारिक चहलपहल बढेको छ भने धेरै नागरिक त्यहीँ बस्न थालेका छन् । गएको वर्षसम्म झन्डै ९० प्रतिशत नागरिक बेँसी झर्थे भने यस वर्ष ३०–५० प्रतिशत मात्र झरेको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।
कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङका धेरै युवाले व्यापार, चीनको हाटबजारमा काम, मालसामान ओसार पसार र चीनबाट आएका विद्युतीय कार सीमा हुँदै भन्सारसम्म ल्याउने काममार्फत दैनिक ५ दखि १० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । अहिले झन्डै ५०० भन्दा धेरै स्थानीयले नाकामा रोजगारी पाएका छन् ।
तीन दर्जन मुस्ताङबासीले नाकामा त्रिपाल टाँसेर व्यवसाय चलाइरहेका छन् । जोमसोम–कोरला सडकखण्डका होटल तथा लोमान्थाङ बजारका धेरै होटल पनि खुला छन् । यद्यपि त्यहाँ चिसो अत्यधिक बढेको छ ।
बिहान र बेलुका तापक्रम माइनस २० डिग्रीसम्म झर्ने गरेको छ । सिमानामा झन्डै तीन सयभन्दा बढी कन्टेनर माल ढुवानीका लागि लाइनमा बसेका भन्सार कार्यालयले जनाएको छ ।


