२०८२ मंसिर १०, मङ्गलवार , ०१:२१:५९ बजे

Sajhamanch
'

शिवसताक्षीमा स्वास्थ्य शिविर : १ हजार ४०० बढीले सेवा लिए

मङ्गलवार, मंसिर १०, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य शिविरबाट १ हजार ४ सय भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन्।

शिविरमा जेनेरल फिजिसियन, मुटु, हाड–जोर्नी तथा नसा, ईएनटी (नाक–कान–घाँटी), छाला रोग, मानसिक स्वास्थ्य, बाल रोग, दन्त रोग, आँखा, जेनेरल सर्जरी, प्रसूति तथा स्त्रीरोग लगायतका सेवा उपलब्ध गराइएको थियो। साथै भिडियो एक्स–रे, इसिजी, इको, ल्याब परीक्षण जस्ता प्राविधिक सेवासमेत दिइएको थियो। सेवा लिने सबै बिरामीलाई निःशुल्क औषधि वितरण पनि गरिएको थियो।

नगर सभापति अशोक बस्नेतका अनुसार विशेषगरी इसिजी, इको र भिडियो एक्स–रे सेवामा भीड बढेको थियो। उहाँले स्थानीयस्तरमै धेरै रोगको उपचार सुविधामैत्री ढंगले उपलब्ध गराइएकोले शिविर अत्यन्त प्रभावकारी भएको बताउनुभयो।

शिविरमा नोबेल मेडिकल कलेज विराटनगरका १८ जना डाक्टर तथा प्राविधिकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। नेपाली कांग्रेस शिवसताक्षीले राजनीति मात्र होइन, आम नागरिकको सेवा–सहयोगमा पनि अग्रसर रहेको उदाहरण प्रस्तुत गरेको जनाएको छ। जिएनजी आन्दोलनपछि केही सुस्तिएको पार्टी अहिले पुनः रचनात्मक गतिविधिबाट सक्रिय हुँदै गएको देखिन्छ।

शिविरको उद्घाटन महासमिति सदस्य भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव होम दुलालले गर्नु भएको थियो।

सम्बन्धित खबर