२०८२ मंसिर १०, मङ्गलवार , ११:२८:३३ बजे

Sajhamanch
'

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू : प्रविधिको सही प्रयोगमा जोड

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ ।

अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।

संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो ।

हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाबाट उत्पन्न समस्या अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहका सरकार, विद्यालय, संघ–संस्था र सरोकारवालाहरुलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

मङ्गलवार, मंसिर १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर