२०८२ मंसिर ९, सोमवार , ०२:२४:४७ बजे

Sajhamanch
'

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

सोमवार, मंसिर ९, २०८२

म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीय ठाउँ कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार २०० मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन शुरू गरिएको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीसहितको टोलीले ताल निर्माणस्थलको गएको हप्ता स्थलगत निरीक्षण गरेको छ ।

टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिकस्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ ।

ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिकस्थलका रूपमा मात्र नभइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खबर